
कालिकोट, जेठ २५ :
कालिकोटको गाल्जे नजिकै खसेको पहिरोले शुक्रबार बेलुकीदेखि अवरुद्ध कर्णाली राजमार्ग आइतबार बिहान एकतर्फी रूपमा खुलेको छ। करीब ३७ घण्टापछि एकतर्फी रूपमा राजमार्ग खुलेको हो।
शुक्रबार बेलुकी ४ बजे जुविथा जिउलो क्षेत्रको पानीले पहिरो गएर सुर्खेत–जुम्ला सडक बन्द भएको थियो। गाडी चालक र सहचालकहरूले शनिबार दिनभर पर्खाल लगाएर खोल्न खोजे पनि बेलुकी फेरि पहिरो खसेपछि बाटो पुन: बन्द भयो।
डिएसपी टेकबहादुर रावतका अनुसार, शनिबार रातभर जेसिबी प्रयोग गरेर पहिरो हटाएपछि आइतबार बिहानबाट गाडी चल्न थालेका छन्। साँघुरो बाटोमा पर्खाल खसेका कारण सयौं मालबाहक गाडी रोकिएका थिए।
कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अहिले ठुला गाडी पनि जानसक्ने अवस्था बनेको जानकारी दिए। सडक डिभिजन जुम्लाको टोलीले मेसिन लिएर पुगेर बाटो खोलेको हो।