
काठमाडौं, जेठ २६ :
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
सोमबारको बैठक विपक्षी दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। दलहरूबीच सहमति नजुटेपछि संसद् सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलहरूले १३ जेठदेखि सदन अवरुद्ध गर्दै आएका छन्।
सभामुख देवराज घिमिरेले सहमतिको प्रयास भइरहेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी दलहरूले माग पूरा नभएसम्म सदन चल्न नदिने अडान लिएका छन्।
सभामुख घिमिरे लगातार संवादमा जुटिरहेका छन् । माओवादी केन्द्र केही लचिलो देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसबीच सहमति जुट्न सकेको छैन।