
चलचित्र ‘मिरमिरे’ मा अभिनेता प्रकाश सपुत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराइएको हो ।
प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलोपटक सहकार्य गर्ने भएका छन् ।
अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले रुचाएका र अभिनयमा पकड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।’
प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताए ।
चलचित्र राम्रो बनाउन कुनै सम्झौता नगर्ने उनले दोहोर्याए । ‘मिरमिरे’ यमको दोस्रो निर्देशन हो ।
चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताए । प्राविधिकपक्ष पनि सिनेमाको बलियो हुने उनको भनाइ छ ।
अभिनेता प्रकाश सपुतले ‘मिरमिरे’ मा जोडिन पाउँदा खुसी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्त्वपूर्ण रहेको बताउँदै उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिए । चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहोरा र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
‘मिरमिरे’ २०८२ मै रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।