
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तित आर्थिक परिदृश्यमा नेपालजस्ता साना मुलुकमा लगानी विस्तार एवं बजार पहुँचबारे अन्तर्राष्ट्रिय संस्थाहरुसँग छलफल गरेका छन् ।
स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोजगारदाताहरुको अन्तर्राष्टिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ इम्पोलयर्स (आईओई) का महासचिव रोबर्टो स्वारेज सान्तोस तथा डब्ल्यूटीओका उपमहानिर्देशक झाङ सियाङछेन्सँग भएको छुट्टाछुट्टै भेटवार्ताका क्रममा ढकालले नेपालभित्र भएका लगानीका सम्भावना र दुवै संस्थासँगको सहकार्य तथा नेपालको अपेक्षाबारे आफ्ना धारणा राखेका थिए ।
आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोससँगको भेटवार्ताका क्रममा उनले विकासका चुनौतीहरू पार गर्न तत्काल लगानीको खाँचो रहेको उल्लेख गरे । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्पर्कलाई मजबुत बनाउन र यस क्षेत्रमा प्रयोग भइरहेका उत्कृष्ट अभ्यासहरू नेपालमा भित्र्याउन सहयोग आदान-प्रदान गर्न सक्ने विचार व्यक्त गरे ।
उनले पर्यटन, जलविद्युत् र सूचना तथा सञ्चार प्रविधिजस्ता क्षेत्रहरूमा नेपालमा उल्लेखनीय लगानीका अवसरहरू उपलब्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहयोग गर्न महासचिव रोबर्टो स्वारेज सान्तोससँग आग्रह गरे ।
‘नेपालमा लगानीका पर्याप्त सम्भावना छन् । भारत र चीनजस्ता दुई विशाल अर्थतन्त्रहरूबीच अवस्थित नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त स्थान भएकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दछु,’ ढकालले भने । अध्यक्ष ढकालले आईओई र महासंघसँगको सहकार्यमार्फत नीति संवाद, सामाजिक संवाद तथा संस्थागत क्षमताको सुदृढीकरणमा दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।
भेटका क्रममा आईओईका महासचिव रोबर्टो स्वारेज सान्तोसले महासंघ आईओईको पुरानो र क्रियाशलि सदस्य रहेको उल्लेख गर्दै महासंघले अन्तर्राष्ट्रियस्तरका निर्वाह गरेको भूमिका र सहकार्यको प्रशंसा गरे । उनले आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आईओई सधैँ तयार रहेको बताए ।
सन् २०२६ सम्म नेपालले अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति गर्ने प्रक्रियाको सन्दर्भमा डब्ल्यूटीओले अन्तरिम अवधिमा शुल्क तथा कोटामुक्त पहुँच कायम राख्ने निर्णयलाई अध्यक्ष ढकालले स्वागत गरे । तर, उनले नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न सक्ने बनाउने प्रविधि, ज्ञान र स्रोतमा आधारित प्राविधिक सहायता र सन्धिहरू कार्यान्वयनका लागि लचकता उपलब्ध गराउन डब्ल्यूटीओसँग विशेष अनुरोध गरे ।
उनले विकसित राष्ट्रहरूले कृषि क्षेत्रमा दिने अत्यधिक अनुदानका कारण नेपाली कृषकहरू प्रतिस्पर्धाबाट पछाडि परेको बताए । (डब्ल्यूटीओ) अन्तर्गतका स्यानिटरी र फाइटोस्यानिटरी (एसपीएस) तथा प्राविधिक अवरोध (टीबीटी) सन्धिहरूमा उल्लेखित उच्च मापदण्डहरू पूरा गर्न नेपाली साना उत्पादकहरूलाई कठिन भइरहेको बताए ।
भेटवार्ताका अवसरमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का उपमहानिर्देशक झाङ शियाङछेन्ले डब्ल्यूटीओ नेपालको आर्थिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र क्षमता विस्तारमा निरन्तर सहयोग गर्ने बताए । भेटवार्ताका अवसरमा महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति ज्योत्सना श्रेष्ठ र उपसभापति बाबुकाजी कार्कीको पनि सहभागिता थियो ।