काठमाडौं, जेठ २८ :

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रस्तावलाई अस्वीकार गरेका छन्। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले उक्त प्रस्तावमा कुनै छलफल नहुने स्पष्ट पारे।

उनले भने, ‘रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन। हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ।’

भट्टराईका अनुसार माओवादी केन्द्रले पठाएको दुई बुँदे प्रस्तावमा एमाले पनि सहमत छ। उनले भने, ‘माओवादीको दुई बुँदेमा, जुन हामीले पनि सहमति जनाएका छौँ, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला। त्यो भएन भने लामो समय संसद् अवरुद्ध हुन सक्दैन। संसद अगाडि बढ्छ।’

हाल गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएपछि प्रतिपक्षी दलहरू उनको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। विपक्षी दलहरूले छलफलका लागि भोलि (बिहीबार) एक दिनको समय माग गरेका छन्।