काठमाण्डौँ , भदौ २३ :

काठमाडौँको उत्तरी भेगस्थित चोभारको जलविनायकमा गणेश चतुर्थीको मेला लागेको छ ।

बिघ्नबाधा हटाउने गणेशको पूजाआराधना तथा दर्शन गर्न काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।

हिन्दू धर्मावलम्बीले गणेशको जन्मदिनका रुपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यस पर्वलाई गणेश चौथी पनि भनिन्छ । 

आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशलाई दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रमा गर्ने प्रचलन छ । 

वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभकार्य गर्दा गणेशलाई अग्र स्थानमा विराजमान गराई पहिलो पूजा गर्ने र गराउने गर्दछन् । यसो गर्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको छ। 

काठमाडौँ उपत्यकाका महत्वपूर्ण चार विनायकमध्ये सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा जलविनायकलाई लिइन्छ ।