उदयपुर, जेठ ३१ :

 उदयपुरको चौदण्डीगढी नगरपालिका–४ शनिबारे बजारमा महिलाको घाँटीबाट सुनको सिक्री चोरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति वीरगन्ज महानगरपालिका–२० का १९ वर्षीय सचिन राजपूत हुन्। उनले बेल्टार बजारमा दुई महिलाको क्रमशः १२ आना र १० आना तौल भएको सुनको सिक्री थुतेर भागेका थिए।

पीडित महिलाहरूले तुरुन्तै घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरी चौकी बसाहको टोली परिचालन भएको थियो। सोही टोलीले राजपूतलाई खाजतर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार राजपूतलाई हाल इलाका प्रहरी कार्यालय बेल्टारमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ।