काठमाडाैं, जेठ ३१ :

प्रेस स्वतन्त्रता विरुद्धको पछिल्लो घटनामा आपत्ति जनाउँदै ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्। 

उनीहरूले पत्रकार दिलभूषण पाठकमाथि जारी पक्राउ पुर्जी खारेज गर्न र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने कानुनी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेका छन्।

विभिन्न मिडियाका सम्पादकहरूद्वारा शनिबार जारी विज्ञप्तिमा फरक उद्देश्यका लागि बनेका कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा पत्रकारलाई पक्राउ गर्न खोजिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ। ‘पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अभिव्यक्तिको स्वतन्त्रतालाई सीमित गर्ने गलत कानुनी व्यवस्था हटाइनुपर्छ।’

उनीहरूले विद्युतीय कारोबार ऐन मा राखिएका अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानहरू संशोधन गर्न संसद् र सरकारलाई आग्रह गरेका छन्। साथै, नेपालखबर डटकम र बिजमाण्डु डटकम लगायतका अनलाइनहरूमा प्रकाशित समाचार हटाउन अदालतबाट दिइएको आदेशप्रति असहमति जनाएका छन्।

सम्पादकहरूले समाचार प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने संवैधानिक हक उल्लंघन भएको भन्दै न्यायिक नेतृत्वको ध्यानाकर्षण गराएका छन्।‘बिना सुनुवाइ समाचार नछाप्न आदेश दिनु प्रेस स्वतन्त्रतामाथिको हमला हो,’ उनीहरूले चेतावनी दिएका छन्।