
तस्बिर : नवभारत टाइम्स
भारतको उत्तराखण्ड राज्यमा तीर्थयात्री चढेको हेलिकोप्टर आइतबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा हेलिकोप्टरमा यात्रारत सबै सातैजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम जागरणले समाचारमा उल्लेख गरेको छ ।
जागरणका अनुसार उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड र सोनप्रयाग क्षेत्रमा बिहान साढे ५ बजे हेलिकोप्टर खसेको हो ।
केदारनाथ जान लागेको आर्यन कम्पनीको हेलिकोप्टर दुर्घटनामा बच्चासहित सात जनाको मृत्यु भएको हो ।
केदारनाथ धाममा यात्रुलाई छाडेपछि त्यहाँबाट अन्य यात्रु लिएर गुप्तकाशीतर्फ फर्किंदा हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा पाइलटको पनि मृत्यु भएको नवभारत टाइम्समा समाचार छ ।
जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दनसिंह राजवारले गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी दिएको बताए । हेलिकोप्टर गौरी माई खर्कमाथिको जंगलमा खसेको छ । उद्धारका लागि एसडीआरएफको टोली घटनास्थलमा पुगेको छ ।
राजवारका अनुसार खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा दुर्घटना भएको मान्न सकिन्छ । यद्यपि दुर्घटनाबारे अनुसन्धान जारी रहेको उनले जनाए । राहत र उद्धार टोली घटनास्थलमा पठाइएको पनि रजवारले जनाएका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमा सन्देश दिँदै भनेका छन्- हेलिकोप्टर दुर्घटनाको दुखद खबर प्राप्त भएको छ । ‘राज्य आपदा प्रतिवादन बल’ लगायत अन्य निकायहरू राहत र उद्धार कार्यमा सक्रिय छन् ।
यी हुन् हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेको नाम
१. राजवीर (पाइलट)
२. विक्रम रावत (बीकेटीसी निवासी रासी उखीमठ)
३. विनोद (उत्तर प्रदेश)
४. तृष्टि सिंह (उत्तर प्रदेश)
५. राजकुमार (गुजरात)
५. श्रद्धा (३५ वर्षीया) (महाराष्ट्र)
७. राशि (१० वर्षीया बालिका) महाराष्ट्र