कालीकोट, भदौ २३ :

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा- ५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठजना घाइते भएका र तीमध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हाइसमा १८ जना सवार रहेका थिए । घाइते हुनेहरूमा सिञ्जा- ३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षीय मनजिते सार्की, ६५ वर्षीया जर्मा सुनार, ६४ वर्षीया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी– ६ का ३९ वर्षीय कर्ण भण्डारी, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते भएको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिनुभयो ।

घाइतेको राँचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । गाडीको ‘ब्रेक’ नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।