
राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिँदै यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
चुरे संरक्षण दिवस २०८२ का अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति गठनको उद्देश्यअनुरूपका उपलब्धि हासिल भए/नभएको समीक्षा गरी यसतर्फ सबै पक्ष गम्भीर हुन जरुरी रहेको धारणा राखे । त्यस अवसरमा नवलपरासीको कावासोती नगरपालिका ३ मा अवस्थित २८ बिघा क्षेत्रको ज्योतिपुञ्ज सामुदायिक वनमा राष्ट्रपति पौडेलले बर र प्रथम महिला सविता पौडेलले पिपल रोपेर चुरे संरक्षण दिवस शुभारम्भ गरे ।
राष्ट्रपति पौडेलले चुरे संरक्षणको यति ठुलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गरे । ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सीमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति जुन उद्देश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हासिल गर्न सकिएको छैन,’ उनले भने ।
उनले चुरे क्षेत्रको प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग गरी चुरे क्षेत्रको वर्तमान अवस्थामा सुधार गर्ने, चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरण न्यूनीकरण गर्ने र स्थानीय जनताको जीवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ चुरे पहाडको जलाधार क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र कायम गरी उक्त क्षेत्रको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सरकारले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको गठन गरेको स्मरण गराए । उनले भने, ‘३७ जिल्लामा फैलिएको चुरे क्षेत्र नेपालका करिब ६० प्रतिशत मानिसको जीवन पद्धतिसँग जोडिएको छ । जनसंख्याको चाप, गरिबी, अवैज्ञानिक खेतीप्रणाली, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहनजस्ता मानवीय क्रियाकलापका कारणले गर्दा यस क्षेत्रका प्राकृतिक स्रोतहरुको क्षयीकरण भइरहेको छ ।’
राष्ट्रपति पौडेलले माथिबाट गेग्रान आउने, त्यसले खोला पुरिने र खोला गाउँ तथा खेततिर हिँडेपछि ठुलो क्षय हुने गरेकाले खोला घर (बाटो) खोलेर गेग्रानको उपयोग गर्न सके तराई-मधेसलाई बचाउन सकिने धारणा राखे ।
राष्ट्रपति पौडेलले चुरे संरक्षणमा सेनाको सहभागिता उपलब्धिमूलक रहँदै आएको उल्लेख गर्दै क्षतिग्रस्त क्षेत्रलाई वृक्षरोपण र संरक्षण गरेर हराभरा बनाउने र पानीको संरक्षणका लागि ठुला-ठुला पोखरी निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने जुन काम भएको छ, यसलाई अझै व्यापक बनाउनुपर्ने बताए ।
उनले कमलो चट्टानबाट निर्मित चुरे क्षेत्र भौगर्भिक हिसाबले कमजोर छ जसका कारण यो क्षेत्र भू-क्षय, बाढीपहिरो, नदी कटानलगायत प्राकृतिक प्रकोपबाट जोखिमयुक्त र संवेदनशील क्षेत्रका रूपमा रहेको बताए । उनले चुरे पहाडको भू-क्षय तथा पहिरोका कारण उत्पन्न बाढीले तराईको उर्वराभूमि मरुभूमी बन्ने खतरा बढिरहेको पनि धारणा राखे । ‘चुरे क्षेत्र तराईको जल पुनर्भरण क्षेत्र हो । चुरे क्षेत्र जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविकमार्ग भएकाले पारिस्थितिकीय प्रणाली संरक्षण तथा सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने ।