सुनसरी, असार ३ :

सुनसरीको इटहरी उपमहानगरपालिका २०, तरहरास्थित धरान-तरहरा सडकबाट प्रहरीले २१ सय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

धरानबाट इटहरी जाँदै गरेको ना.५ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दागोभी र १२ आलुको बोराको बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा मंगलबार फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा यात्रारत ३३ वर्षीय सुनील राई र सुनसरीको बराहक्षेत्र नगरपालिका ९ का ३४ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिए ।