काठमाडौं, असार ४ :

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजना हुने भएको हो।

प्रधानमन्त्रीका स्वकीय सचिव रोश्नी मेचेका अनुसार बैठकमा मुलुकमा सुशासन प्रवर्द्धन गर्न हालसम्म भएका प्रयास र आगामी सुधारका उपायहरूबारे विस्तृत छलफल हुनेछ।

सरकारले गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकमार्फत आयोग गठन गरेको थियो। आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन्।

सरकारी सेवा प्रणालीमा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न आयोगको गठन गरिएको हो। बैठकमा कार्ययोजना निर्माण, कार्यान्वयनको रूपरेखा र सम्बन्धित निकायबीच समन्वयबारे पनि छलफल हुने अनुमान गरिएको छ।