काठमाडौं, असार ४ :

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रशन्न फुयाललाई पराजित गरिन् । नागर्जुन नगरपालिकाकी वन्दना तामाङ तथा आयोजक काठमाडौं महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेस्रो भए ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

महिला टिम कुमुतेमा सोनाम शेर्पा, समीक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौं महानगरपालिका ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोस्रो भए ।

गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतीक्षा तामाङ र सलिना तुलाधर संयुक्त रुपमा तेस्रो भए । पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार जित्नेछन् ।

दुईदिने प्रतियोगितामा महिलाको २ स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् । ५ खेल समावेश बृहत खेलकुदमा २ खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबलटेनिस सम्पन्न भएको थियो ।

फुटसल :
बृहत् खेलकुदअन्तर्गत पुरुष फुटसलमा वडा २६ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौर खेल मैदानमा वडा २६ ले वडा १२ लाई ९-१ को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । वडा १३ ले वडा १४ लाई ४-३ गोलले हरायो ।

तेक्वान्दो भोलिदेखि :
बृहत् खेलकुदअन्तर्गत तेक्वान्दो भोलि बिहीबारदेखि सुरु हुनेछ । पुरुष/महिलामा समान १०-१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने तेक्वान्दोका संयोजक गौरव रजकले जनाएका छन् । २५९ खेलाडीको सहभागिता रहनेछ ।

पहिलो हुने टिमले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष/महिला खेलाडी जनही १० हजार नगदबाट पुरस्कृत हुनेछन् । हरेक स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २/२ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइनेछ ।