
काठमाडौं, असार ४ :
नेपालले बिली जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ ।
समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३-० ले पराजित गर्यो । पहिलो खेलमा नेपालले म्यान्मारलाई २-१ ले हराएको थियो ।
श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६-० र ६-२ को सोझो सेटमा पराजित गरिन् । दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७-६ र ६-४ ले हराइन् ।
डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४-६, ७-५ र ११-९ ले पाखा लगाए ।
समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्ने टिम अफिसियलसमेत रहेका नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।