
फाइल तस्बिर।
पेट्रोलियम पदार्थको सम्भावना पहिल्याउन सुरु गरिएको अध्ययनले दैलेखमा ठुलो परिणामको मिथेन ग्यास पत्ता लगाएको हो।
दैलेखको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। चिनियाँ सरकारी कम्पनी सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले करिब डेढ वर्षको ड्रिलिङपछि प्रस्तुत गरेको प्रतिवेदनअनुसार नेपाललाई करिब ५० वर्षसम्म पुग्ने परिमाणको ग्यास फेला परेको हो।
भूगर्भ विभागका अनुसार अब परीक्षण उत्पादनको प्रक्रिया अघि बढाइनेछ। विभागका उपमहानिर्देशक दिनेशकुमार नापितका अनुसार प्रारम्भिक प्रतिवेदनले सकारात्मक संकेत दिएको छ र व्यावसायिक परीक्षणको ढोका खुलेको छ।
‘हामीले करिब ४ हजार १३ मिटरसम्म ड्रिलिङ गरेका थियौं,’ उपमहानिर्देशक नापितले भने, ‘जसको प्रत्येक मिटरको नमुना परीक्षणका लागि पठाइएको छ। अब बाँकी प्रक्रियाका लागि दुई देशका सरकारबीच थप सम्झौता आवश्यक छ।’
चिनियाँ टोलीले ग्यासको गुणस्तर र मात्रा पत्ता लगाउन चट्टानका नमुना संकलन गरी चीन लगेको छ। नेपालमा पेट्रोलियम पदार्थको सम्भावना पहिल्याउन सुरु गरिएको अध्ययनले ठुलो परिणामको मिथेन ग्यास पत्ता लगाएको हो। यसअघि २०८० वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङ करिब डेढ वर्षसम्म चलाइएको थियो।