
नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि संसदप्रति विश्वास नरहेको आशंका व्यक्त गरेका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपाले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा भाग नलिएर संसदीय अभ्यासको अपमान गरेको टिप्पणी गरे।
भट्टराईले भने, ‘संसद्मा हामी छलफल गर्दैनौं, भाग लिँदैनौं, तर गम्भीर प्रश्न उठ्छ– संसद्प्रति उहाँहरूको विश्वास छ कि छैन?’
उनले रास्वपाले भिजिट भिसा प्रकरणमा समयसीमा तोक्न प्रस्ताव गरेको, तर सहमति जुटेपछि पुनः छलफलमा नफर्किएको आरोप लगाए। ‘छलफल नगरी सिधै वेल घेराउ गर्नुको तुक के हो? गर्न खोजेको के हो? त्यो हामी बुझ्न सकेनौं,’ उनले भने।
भट्टराईले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति छिटो कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे। यो कार्यान्वयनले संसद् अवरोध हटाउन सहयोग पुर्याउने उनको विश्वास छ।
रास्वपाको स्थापना दिवसको प्रसंग उठाउँदै भट्टराईले पार्टीको समिक्षा गर्न सुझाव दिए। ‘कांग्रेस बिग्रियो, एमाले बिग्रियो भनेर टिप्पणी गर्नुहुन्छ, तर हामीलाई बन्न पनि समय लाग्यो, बिग्रन पनि समय लाग्छ। तपाईंहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ,’ भट्टराईले टिप्पणी गरे।
त्यस्तै, कालो कपडा लगाएर संसद्मा आएर प्रधानमन्त्रीको अपमान गर्न खोजिएको उनको आरोप थियो।