
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका व्यक्तिहरूलाई पुनः नेपाली नागरिकता दिन नसकिने स्पष्ट पारेका छन्।
ललितपुरमा शनिबार आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले विदेशी नागरिकता लिइसकेपछि नेपाली नागरिकताको निरन्तरता दिन गाह्रो पर्ने धारणा व्यक्त गरे।
उनले भने, ‘उता नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ। अरु कामका लागि एनआरएन नागरिकता दिन सकिन्छ। हाम्रोजस्तो सानो देशमा धेरै गाह्रो पर्छ।’
ब्रिटिश गोर्खा सैनिकहरूद्वारा उठाइएको नेपाली नागरिकताको निरन्तरता सम्बन्धी माग स्वाभाविक भएको उल्लेख गर्दै देउवाले विदेशी नागरिकता ग्रहण गरेपछि पुनः नेपाली नागरिकता दिन असम्भव हुने बताए। तर नेपाल फर्किन चाहनेलाई भने स्वागत गरिने उनको भनाइ थियो।
ब्रिटिश गोर्खा सैनिकहरूबारे संसद्को समितिमा छलफल भइरहेको जानकारी दिँदै उनले राजनीतिक दलहरूले छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए। “गोर्खा सैनिकले नेपाली नागरिकताको निरन्तरताको माग उठाइरहनु भएको छ, यस विषयमा दलहरूले निष्कर्ष निकाल्नुपर्छ,’ देउवाले भने।
कार्यक्रममा देउवाले ब्रिटिश गोर्खा सैनिकको इतिहास गर्व गर्नलायक रहेको बताए। उनले पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खाहरूको योगदान, साहस, प्रतिबद्धता र अनुशासनको प्रशंसा बेलायतले गरेको स्मरण गरे। ‘गोर्खा फौज आज नेपाल–बेलायत सम्बन्धको महत्वपूर्ण कडी बनेको छ,’ उनले उल्लेख गरे।
त्यस्तै, उनले गोर्खा सैनिकलाई बेलायती सैनिक सरह सेवा, सुविधा र समान पेन्सन दिनुपर्ने विषयमा आफूले बेलायती अधिकारीहरूसँग कुरा गरिसकेको जानकारी पनि दिए।