
आयोजक काठमाडौं महानगरपालिका २६ ले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत क्योकुसिन कराते (आईकेयू) मा सर्वाधिक ३ स्वर्ण जितेको छ ।
पुरुषको मात्र ५ स्पर्धा समावेश प्रतियोगितामा क्योकुसिन बुदो र काठमाडौं महानगरपालिका वडा १२ ले समान १-१ स्वर्ण जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा बालकृष्ण बुढा, ४५ केजीमा रिखीधन राई र खुला तौलसमूहमा धनबहादुर विकले आयोजकलाई स्वर्ण दिलाए ।
बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखीधनले पनि आफ्नै वडाका कैलाश रानामगर र धनबहादुरले काठमाडौं महानगरपालिका २५ का गोविन्द बस्याललाई पराजित गरे ।
पुरुष ३५ केजीमा क्योकुसिन बुदोका सिर्जन सुनुवारले काठमाडौं महानगरपालिका १२ का समरबहादुर दमाईं तथा ५५ केजीमा काठमाडौं महानगरपालिका १२ का सुसान तामाङले आफ्नै वडाका आशुतोष जैसवाललाई हराए । शीर्ष चार स्थानमा रहने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
तार्केश्वरलाई फुटसलको उपाधि
तार्केश्वर नगरपालिकाले बृहत् खेलकुदअन्तर्गत पुरुष फुटसलको उपाधि जितेको छ ।
लैनचौर खेल मैदानमा भएको फाइनलमा तार्केश्वरले वडा ५ लाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १-१ बराबरीमा टुंगिएको थियो । उपाधिसँगै तार्केश्वरले एक लाख ५० हजार तथा वडा ५ ले ७५ हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा वडा ५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी तथा वडा ५ कै नितेश महर्जन उत्कृष्ट गोलरक्षक घोषित भए । वडा २६ का नीराजन मल्ल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । तीनैले जनही १० हजार नगद पुरस्कार हात पारे । १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र उपमेयर सिर्जना बुर्लाकोटी अर्याल, आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, आयोजक वडाका सदस्य एवं प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
जेठ ३१ गतेदेखि सुरु भएको बृहत खेलकुदमा क्योकुसिन कराते, फुटसलसहित टेबलटेनिस, कराते र तेक्वान्दो गरी ५ खेलमा प्रतिस्पर्धा भएको तेक्वान्दो संयोजक गौरव रजकले जनाएका छन् । सबै खेलको प्रतिस्पर्धामा नगद पुरस्कार राखिएको थियो । कुल पुरस्कार राशि ११ लाख ९० हजार रुपैयाँ रहेको थियो ।