
इजरायल–इरान युद्धमा अमेरिकाले सक्रिय संलग्नता जनाउँदै इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो शक्तिशाली ‘बङ्कर–बस्टर’ बम प्रयोग गरेको पुष्टि भएको छ। आइतबार भएको आक्रमणमा अमेरिकी बी–२ स्टेल्थ बमवर्षकहरूले पहाडको गहिराइमा रहेको फोर्डो साइटमाथि आक्रमण गरेका हुन्।
फोर्डो इजरायलको हप्तौँदेखिको आक्रमणबाट अछुतो रहेको स्थल हो, जसलाई नष्ट गर्न ‘बङ्कर–बस्टर’ बम सबैभन्दा उपयुक्त हतियार मानिएको थियो। बम विस्फोटपछिको क्षति अझै स्पष्ट छैन, तर मिसनको रणनीतिक असर गहिरो हुनसक्ने विश्लेषण गरिएको छ।
‘बङ्कर–बस्टर’ भन्नाले सतहमुनि गहिराइसम्म पुगेर विस्फोट हुने खालका बम जनाइन्छ। यस सन्दर्भमा प्रयोग गरिएको बम ५७ ए/बी म्यासिभ अर्डनान्स पेनेट्रेटर हो । जसको तौल करिब ३० हजार पाउन्ड (१३,६०० किलोग्राम) हुन्छ र यो ६० मिटरसम्म मुनि प्रवेश गरेर विस्फोट गर्नसक्ने क्षमता राख्दछ।
बम प्रयोगको पुष्टि एक अमेरिकी अधिकारीले नाम गोप्य राखी दिएका छन्। अमेरिकी वायुसेनाको अनुसार, यस्तो बम हाल केवल बी–२ स्टेल्थ बमवर्षकद्वारा खसाल्न सकिन्छ, जुन लडाकू विमान नर्थरोप ग्रुम्यानद्वारा निर्माण गरिएको हो।
इरानको फोर्डो साइट तेहरानबाट ९५ किलोमिटर दक्षिणपश्चिम, कोम नजिकको पहाडमुनि अवस्थित छ र अनुमानित ८० मिटर गहिरो सुरुङ प्रणालीभित्र सञ्चालनमा रहेको छ। सन् २००९ मा यसको अस्तित्व सार्वजनिक रूपमा स्वीकार गरिएको थियो।
फोर्डो उच्च संवर्धित युरेनियम उत्पादन गर्ने स्थल हो। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले यस स्थानमा आणविक गतिविधि पुष्टि गरिसकेको छ। यही कारणले यहाँ हमला हुँदा आणविक सामग्री फैलिन सक्ने सम्भावनाले चिन्ता बढाएको छ।
यसअघि इजरायली हमलाले नातान्ज सेन्ट्रिफ्यूज साइटलाई लक्षित गर्दा केवल साइटमै प्रभाव परेको र वरपर प्रदूषण नभएको जनाएको थियो।
इरानविरुद्ध इजरायलको प्रमुख उद्देश्य उसको क्षेप्यास्त्र र आणविक कार्यक्रम उन्मूलन गर्नु हो। अमेरिकी समर्थनसहित फोर्डोलाई नष्ट गर्न सकिने रणनीति बनाइएको देखिन्छ। इजरायली प्रधानमन्त्री नेतान्याहुले यो सम्पूर्ण अपरेसन फोर्डो नष्ट नगरेसम्म अधूरो रहने बताएका छन्।
अमेरिकी संलग्नता प्रारम्भमा अस्पष्ट रहँदा, राष्ट्रपति ट्रम्पले अन्ततः केवल दुई दिनमै निर्णायक कदम चालेका हुन्। जी–७ बैठकमा संलग्नता विषयमा स्पष्ट जवाफ नदिए पनि, पछिल्लो अवस्थामा अमेरिकाले ठुला सैन्य कारबाहीमा सहभागी हुने संकेत देखाएको हो।