
काठमाडौं महानगरपालिका ८ का पूर्ववडाध्यक्ष सुवर्ण वैद्यको आइतबार पशुपति आर्यघाटमा अन्येष्टि गरिएको छ । अन्येष्टिअघि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर वडा कार्यालयमा राखिएको थियो ।
उनको पार्थिव शरीरमा वडाध्यक्ष आशामान संगतसहित जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीले श्रद्धाञ्जली अर्पण गरे । त्यसअवसरमा विभिन्न राजनीतिक दलका नेताहरुसमेत पुगेका थिए ।
पदमा रहँदा वैद्यले पुर्याएको योगदान र सामाजिक क्षेत्रमा गरेको सेवाप्रति सम्मान प्रकट गर्दै वडाले आइतबार शोक बिदा पनि दिएको थियो ।
असार ५ गते जयबागेश्वरीमा सडक पार गर्ने क्रममा उनलाई ट्याक्सीले ठक्कर दिएको थियो । वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार दुर्घटनापछि उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो । उपचारकै क्रममा असार ७ गते साँझ वैद्यको निधन भएको हो ।
२००६ असोज १५ गते जन्मिएका वैद्य २०३९ साल र २०४४ सालमा वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । २०६१ सालमा तत्कालीन राजाको शासनमा उनलाई वडाध्यक्षकै रुपमा मनोनीत गरिएको थियो । राजनीतिसँगै वैद्य सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । उनले पशुपति आर्यघाटमा घाटे वैद्यका रूपमा समेत काम गर्थे ।