काठमाडौं, असार ११ :

नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको पार्टी सचिवालय बैठकले उनीहरूको ६ महिनाअघि लगाइएको निलम्बन फिर्ता लिने निर्णय गरेको हो। उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णय सार्वजनिक गर्दै जानकारी दिएका हुन्।

गत पुस १० गते पार्टी कार्यालय बनाउन भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि पाण्डे र तिम्सिनामाथि पार्टी जिम्मेवारी खोसिएको थियो। नेता भीम रावललाई पार्टीबाट निष्काशन गरिएको थियो। रावलको निर्णयमा भने पुनर्विचार भएन । त्यस विषयमा सचिवालय कठोर नै बन्यो ।

साथै, एमालेले भदौमा हुन लागेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारी तीव्र पारेको छ। सोही बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई छुट्टाछुट्टै कार्यभार सुम्पिएको छ। ओलीलाई राजनीतिक प्रतिवेदन तयार पार्ने, पौडेललाई विधान संशोधन प्रस्ताव तयार गर्ने र पोखरेललाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको हो।

विधान महाधिवेशनमा ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा जस्ता विवादास्पद विषयहरू टुंगो लगाइनेछ। यस्तै, पार्टी सदस्यता नवीकरणको म्याद पनि थपिएको छ। अब असार १५ गतेसम्म प्रदेश र असार मसान्तसम्म केन्द्रमा विवरण बुझाइसक्नुपर्नेछ।