
सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन जना न्यायाधीशविरुद्ध ७ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा दर्ता भएका ती उजुरीमध्ये ५ वटा व्यक्तिगत रूपमा केन्द्रित छन् भने २ वटा उजुरी सुनुवाइ प्रक्रियासँग सम्बन्धित छन् ।
समितिका सभापति ईश्वरी देवी न्यौपानेले उजुरीहरूको जानकारी दिँदै उजुरीकर्ताहरूलाई यही शुक्रबार समिति बैठकमा आमन्त्रण गरिएको बताइन्। यद्यपि, उजुरीहरू कुन विषयमा परेका हुन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। केही दिनअघि न्यायपरिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको थियो।
सिफारिसमा परेका न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।
उनीहरूको संसदीय सुनुवाइपछि मात्र सर्वोच्च अदालतमा नियुक्तिको टुंगो लाग्नेछ। संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ अनिवार्य मानिएको छ।