
पश्चिम बंगालमा राज्य सरकारले निर्माण गरेको नयाँ जगन्नाथ धाम मन्दिरको प्रसाद घर-घरमा पुर्याउने योजनालाई लिएर विवाद चर्किएको छ।
२५० करोड रुपैयाँ खर्चमा बनाइएको यस मन्दिरको उद्घाटन मुख्यमन्त्री ममता बनर्जीले गत अप्रिल ३० मा गरेकी थिइन्। त्यसयता तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा) बीचको राजनीतिक रस्साकस्सी जारी छ।
सरकारले जुन १७ देखि 'दुआरे राशन योजना' अन्तर्गत २० रुपैयाँ मूल्य पर्ने प्रसाद प्याकेट १.४० करोड घरमा पुर्याउने अभियान सुरु गरेको छ। तर विपक्षी भाजपाले यसलाई 'हिन्दुत्वको अपमान', 'धार्मिक भावनामाथिको खेलबाड' र 'चुनावी प्रचारको साधन' भनेको छ।
भाजपाले सरकारले ४२ करोड रुपैयाँ खर्च गरेर धार्मिक प्रसाद वितरण गर्नु संविधानविपरीत रहेको आरोप लगाउँदै मुस्लिम पसलबाट मिठाई बनाइएको भन्दै आपत्ति जनाएको छ।
भाजपाका वरिष्ठ नेता शुभेन्दु अधिकारीले भने, ‘यो तृणमूल कांग्रेसको तुष्टीकरण नीतिको नतिजा हो।’ दिलीप घोषले स्थानीय पसलेको मिठाईलाई मन्दिरको प्रसाद भन्नु हिन्दू धर्मप्रतिको अपमान भएको बताए।
तर, तृणमूल कांग्रेसले यी आरोपलाई अस्वीकार गर्दै प्रसाद बाँडफाँड सबै धर्मका मानिसका लागि भएको दाबी गरेको छ। हिडको अध्यक्ष तथा शहरी विकास मन्त्री फिरहाद हाकिमले भने, ‘भगवान सबैका हुन् र उनको प्रसाद पनि सबैका लागि हो। भाजपाले यसलाई धार्मिक हतियार बनाएको छ।’
यसअघि पनि मन्दिरको नाम र मूर्ति पुरीको जगन्नाथ मन्दिरबाट ल्याइएको भनिएको विषयमा विवाद उठेको थियो। ओडिशा सरकारले नाममा आपत्ति जनाउँदै पत्रसमेत पठाएको थियो।
यसैबीच कोलकातास्थित इस्कनका प्रवक्ता राधारमण दासले मन्दिरमा चढाइएको ३०० किलो खवा राज्यभर पठाइएको र त्यसैलाई मिसाएर प्रसाद प्याक गरी घरघरमा पठाइएको जानकारी दिएका छन्।
सर्वसाधारण पक्षमा प्रसाद वितरणले खासै असर नपरेको देखिएको छ। मुस्लिम समुदायका केही नागरिकहरूले पनि यो प्रसाद खुशीसाथ लिएको बताएका छन्। सिंगुरका मोहम्मद सिराजुद्दीन र भांगरकी सबिना शेख जस्ता स्थानीयहरू भन्छन्, ‘सरकारले दिएको प्रसाद लिएकोमा कुनै आपत्ति छैन।’
राजनीतिक विश्लेषकहरूका अनुसार ममताको यो कदम भाजपाको हिन्दुत्व एजेन्डाको प्रतिउत्तर र आगामी चुनावलाई लक्षित रणनीतिको हिस्सा हो। तर उनीहरूले प्रश्न उठाएका छन्-सरकारको प्राथमिकता अस्पताल, शिक्षा र रोजगारीमा किन छैन?
वरिष्ठ विश्लेषक शिखा मुखर्जी भन्छिन्, ‘ममताको यो अभियान चुनावअघि आफ्नो धर्मनिरपेक्ष छवि परिवर्तन गर्ने प्रयास हो। अर्कोतर्फ, भाजपा पनि आफ्ना आधारको रक्षा गर्न हिन्दुत्वको एजेन्डामा उत्रिएको छ। बीबीसी हिन्दी