काठमाडौं, असार १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पुनर्बहालीको मागसहित डा. मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले रास्वपालगायत विपक्षीलाई १७ गते छलफलका लागि बोलाएको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा बिहीबार भएको प्रारम्भिक सुनुवाइपछि अदालतले विपक्षीको जवाफ सुनिसकेपछि मात्रै अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्ने आदेश दिएको हो।

रास्वपाले ढकाललाई हटाएर सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री नियुक्त गरेपछि ढकालले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाउँदै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

रिटमा ढकालले आफू नै रास्वपाको वैधानिक महामन्त्री भएको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउनुपर्ने माग गर्दै परमादेश तथा उत्प्रेषण आदेशको माग गरेका छन्।