काठमाडौं, असार १५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले ‘सुमिरे टुर एन्ड ट्राभल्स’ आफ्नै कम्पनी भएको स्वीकार गर्दै त्यस सम्बन्धमा सांसद रामहरि खतिवडाद्वारा उठाइएका आरोपहरू अस्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्यालले आफ्नो कम्पनीमार्फत भिजिट भिसामा गएकाहरू फर्किन नसकेको कुनै प्रमाण नभएको दाबी गरे । उनले कम्पनीमार्फत मानव तस्करी भएको भन्ने आरोपलाई निराधार भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे ।

शनिबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘सुमिरे टुर एन्ड ट्राभल्स’ विगत १० वर्षदेखि भिजिट भिसाको नाममा नेपालीलाई जापान पठाई अर्बौं रुपैयाँ कमाएको र त्यसैको आधारमा संसद्मा सांसद किनेर प्रवेश गरिएको आरोप लगाएका थिए ।

त्यसको जवाफमा अर्यालले आफू चोरेर होइन, मिहिनेत गरेर खाने मान्छे भएको प्रस्ट पार्दै भने, ‘मेरो समय ठिकै चलेको छ, अरुको घडी बिग्रेको छ भने म के भनूँ ?’

अर्यालले प्रश्न गरे, ‘के मेरो कम्पनीबाट एक जना पनि मान्छे विदेश गएको छ र फर्किएको छैन ? छ भने प्रमाण पेस गरियोस्, छैन भने लाञ्छनायुक्त अभिव्यक्ति हटाइयोस् ।’

उनले ३२ दिनदेखि संसद्‌मा उठिरहेको भिजिट भिसा प्रकरणलाई अन्यत्र मोड्न यस्तो आरोप लगाइएको आरोप पनि लगाए । अर्यालले आफूहरूको आन्दोलन जारी रहने र भिजिट भिसाको नाममा भइरहेको अवैध कार्यविरुद्ध आवाज उठाइरहने चेतावनी दिए।