
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बन गरिएको छ। त्यहाँको संवैधानिक अदालतले हालकी प्रधानमन्त्री सिनावात्रालाई पदबाट निलम्बन गरिएको हो।
सिनावात्रामाथि कंबोडियाका नेता हुन सेनसँग फोन वार्ता गर्दै थाई सेना प्रमुखको आलोचना गरेको आरोप लागेको छ। यो वार्ताको अडियो लीक भएपछि देशभर आक्रोश फैलिएको थियो।
विपक्षी सांसदहरूले उनलाई सेनाविरुद्ध उभिएको भन्दै आलोचना गरेका छन्। यस घटनासँगै उनको फेउ थाई पार्टीबाट गठबन्धन साझेदार टाढिएको छ भने हजारौंले राजधानी बैङ्ककमा विरोध प्रदर्शन गरेका छन्।
संवैधानिक अदालतले ७-२ को मतले उनलाई पदबाट हटाउने निर्णय गरेको हो। अदालतले उनीमाथि लागेको आरोपको थप अनुसन्धान गरिने बताएको छ। यदि दोषी ठहरिएमा उनलाई सधैंका लागि पदबाट हटाइनेछ।
शिनावात्राले आफूबाट नैतिकता उल्लंघन भएको स्वीकार गर्दै छानबिन पूरा नभएसम्म प्रधानमन्त्री पदमा कार्य नगर्ने घोषणा गरेकी छन्।
उनी निलम्बनमा परेपछि उपप्रधानमन्त्री फुमथम वेचायाचाईले थाईल्यान्डको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छिन् । अदालतको अन्तिम निर्णय नआएसम्म देशको शासन सञ्चालन कार्यवाहक प्रधानमन्त्री वेचायाचाईले नै गर्नेछन्।
उनका पिता तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा राजद्रोह आरोपमा अदालतमा उपस्थित भएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यी दुई घटनाले सिनावात्रा परिवारको 'गम्भीर राजनीतिक संकट' उजागर गरेका छन्।
