
विपद्मा परेका व्यक्तिको खोज तथा उद्धारका लागि तत्काल हेलिकोप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गृहमन्त्री रमेश लेखकको रोहबरमा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच हवाई उद्धारका लागि सम्झौता भएको हो ।
समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्नुपरेमा निःशुल्क रुपमा परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने भएको छ ।
त्यसैगरी विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजी हेलिकोप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउँदै परिचालन गरिनेछ । वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिक रुपमा पालो तोकी निजी हेलिकोप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ ।
त्यस्तै हेलिकोप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रुपमा अध्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृह मन्त्रालयले जनाएको छ ।
त्यसैगरी दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकोप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपद्ग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ ।
गृह मन्त्रालयमार्फत उद्धार उडानका लागि आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्डययन प्राधिकरणलाई समेत जानकारी गराउनेछ ।
त्यसैगरी काठमाडौं उपत्यकाबाहिर खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्नुपरेमा हेलिकोप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्य नजर गरी हेलिकोप्टर सञ्चालनको न्यूनतम खर्चमा परिचालन गर्ने र हेलिकोप्टर प्रयोग बापतको रकम बिल तथा विपद्का घटनाको खोज तथा उद्धारमा उडान भएको प्रमाणित कागजात मन्त्रालयबाट भएको आदेशलगायत कागजात प्राप्त भएपश्चात प्राधिकरणले भुक्तानी दिने प्रबन्ध गरिएको छ ।
साथै समयमै उद्धार उडान गर्ने\गराउने प्रयोजनार्थ गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालक संघका प्रतिनिधि रहेको एक समन्वय समिति गठन गर्ने मन्त्रालयले जनाएको छ ।
एक वर्षका लागि गरिएको समझदारी आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने समझदारीमा उल्लेख छ । समझदारीपत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका छन् ।
दुईपक्षीय समझदारीपछि गृहमन्त्री रमेश लेखकले असल कार्यको थालनी भएको बताए । ‘हामी मनसुनको प्रारम्भिक चरणमा छौं । मनसुनजन्य विपद्बाट ठुलो जनधनको क्षति भएको अवस्था छ । नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौं,’ उनले भने, ‘सेना, प्रहरी र सशस्त्र प्रहरीले विपद् खोज, उद्धार तथा प्रतिकार्यमा सक्रिय छ ।’
मन्त्री लेखकले विपद्मा सहयोग गर्ने समझदारी गरेको वायुसेवा सञ्चालक संघलाई सरकारका तर्फबाट धन्यवाद दिए । ‘विपद्को अत्यन्त जँदा जोखिमको भूगोलमा छौं । प्रत्येक वर्ष विपद्ले समस्या निम्त्याउँछ,’ उनले भने, ‘जुनसुकै बेला भूकम्प जान सक्छ ।’