
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गतेसम्म हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबाट आजै तोडिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । विभिन्न प्रस्तावमा धारणा राख्नेक्रम जारी रहेकाले कार्यसमितिको बैठक असार १९ गते दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले जानकारी दिए ।