सिन्धुपाल्चाेक, असार १९ :

नेपालमा पहिलोपटक कन्टेनरमार्फत हेलिकोप्टर भित्रिएको छ । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकोप्टर आयात गरिएको हो । 

माउन्टेन हेलिकोप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकोप्टर ल्याइपुर्‍याएको छ । आकाशमा उड्ने हेलिकोप्टरलाई यसरी कन्टेनरमा भित्र्याइएको देख्दा तातोपानी भन्सार वरपरका स्थानीय बासिन्दा अचम्मित बने । 

४० फिटे कन्टेनरभित्र सुरक्षित रूपमा प्याक गरिएको हेलिकोप्टर अहिले तातोपानी भन्सार नाकामा छ।  तातोपानी भन्सार नाकामा हेलिकोप्टरको जाँचपासको प्रक्रिया चलिरहेको छ ।

 फ्रान्सको एयरबस कम्पनीमा बनेको हेलिकोप्टर पहिलो पटक चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । 

हेलिकप्टरको भन्सार प्रक्रिया तथा पङ्खा जडानको काम एकसाथ भइरहेको छ। भन्सार क्लियर भएपछि हेलिकप्टर यहीँबाट उडाएर ल्याउने तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले बताए । आयातकर्ता माउन्टेन हेलिकोप्टर प्रालिले करिब साढे चार करोड रुपैयाँ भन्सार कर तिर्नु पर्नेछ।

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकोप्टर

माउन्टेन हेलिकोप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकोप्टर ल्याएको छ । कम्पनीका महाप्रवन्धक दिलबहादु वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकोप्टर नेपाल भित्र्याइएको हो । चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको हो ।

महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताए । कम्पनीले यसअघि एउटा हेलिकोप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकोप्टर ल्याइएको हो ।

महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिए। नयाँ हेलिकोप्टरसँगै कम्पनीसँग तीन हेलिकोप्टर भएका छन् ।