काठमाडौं, असार १९ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्र बढ्दो गुटबन्दी, अनुशासनहीनता र मनपरीविरुद्ध आक्रोश व्यक्त गर्दै आमरण अनशन बस्नेसम्मको चेतावनी दिएका छन्।

अनुशासन समितिको कामप्रति पनि उनले प्रश्न उठाउँदै मनपरी ढंगले निर्णय भइरहेको आरोप लगाए। 'यदि निष्पक्षता नभए, एक पक्षले अर्को पक्षलाई दबाउने प्रयास भए, म आफैँ आमरण अनशन बस्न बाध्य हुनेछु,' उनले चेतावनी दिए।

केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले पुराना दलप्रति जनताको भरोसा घट्दो अवस्थामा रहेको बताए। 'राजनीतिक दलले काम गर्दैनन् भन्ने धारणा बनिसकेको छ,' भन्दै उनले पार्टीभित्र गम्भीर सुधार आवश्यक रहेको औंल्याए।

केसीले कांग्रेस गुट-उपगुटमा विभाजित भएको, नेताहरू संस्था होइन व्यक्ति प्रधान बन्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई सच्याउन माग गरे। उनले पार्टीको महाधिवेशन समयमै (वि.सं. २०८२ मै) गर्नुपर्ने धारणा राखे।

केसीले पार्टी सभापतिलाई सबै अनियमितताको जिम्मेवार ठहर गर्दै सुधारको माग गरेका छन्।