
सिकागोको नाइटक्लब बाहिर गोलीबारी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । जसमा १४ जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।
सिकागो प्रहरीले बुधबार स्थानीय समयअनुसार राति ११ बजे क्लब नजिकैबाट गाढा रङको कार गुडेको बताएको छ । त्यसमा रहेका बन्दुकधारीहरूले बाहिर उपस्थित मानिसहरूमाथि गोलीबारी गर्न थालेका हुन् ।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार र्यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भिड बाहिर निस्किरहेको थियो ।
प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको जनाएको छ । घटनामा संलग्न कोही पनि अहिलेसम्म नियन्त्रणमा आइपुगेको छैन ।
गोलीबारीबाट घाइते भएकाहरूलाई विभिन्न अस्पताल लगिएको छ । २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्पतालमा भर्ना भएका चारजनाको अवस्था सिकिस्त छ । गोलीबारीबाट घाइते र मृतकको पहिचान अझै खुलाइएको छैन । -बीबीसी
