काठमाडौं, असार २० :

राष्ट्रिय सभाको बैठकमा संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

सभाको आजको बैठकको शून्य समयमा प्रतिनिनिधिसभाबाट पास भई राष्ट्रिय सभामा पेस भएको विधेयकमाथि धारणा राख्दै सदस्यहरू यस्तो माग गरेका हुन् । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासेले कुलिङ पिरियडका विषयमा प्रतिनिधिसभामा घटेको घटनाका विषयमा गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् ।

गोपीबहादुर सार्की अछामीले संघीय निजामती विधेयकमा कुलिङ पिरियडको विषयमा बेइमानी भएको भन्दै कारबाहीको माग गरे । यस्तै मृगेन्द्रसिंह यादवले निजामती विधेयकमा छलछाम गरेर प्रतिवेदन ल्याउनेलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरे ।

सदस्य जगप्रसाद शर्माले मनसुनको समय सुरु भइसकेकाले मौसमविद् र विज्ञको चेतावनीअनुसार सम्भावित जोखिमबाट बच्नका लागि तयारीका विषयबारे सरकारको ध्यानाकर्षण गराए । सदस्य तारामान स्वाँरले पश्चिम क्षेत्रमा महाभूकम्पको जोखिम रहेकाले आवश्यक पूर्वतयारी गर्न सरकारसँग आग्रह गरे ।

यस्तै वेदुराम भुसालले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन हालसम्म पनि नबाँडिएको र किन नबाँडिएको हो भन्नेबारे आशंका पैदा भएको बताए ।

मायाप्रसाद शर्माले २०८० कात्तिक १७ गते गएको भूकम्पको घाउ नमेटिएकै अवस्थामा मनसुनका कारण भूकम्पपीडितलाई कतिपय स्थानमा समस्या भएकाप्रति सरकारको ध्यानाकर्षण गराए । अर्का सदस्य सुमित्रा बीसीले सुर्खेत-जुम्ला सडक वर्षाका कारण बिहीबारको पहिरोका कारण अवरुद्ध भएकाले तत्काल निर्माण गर्न सरकारसँग माग गरे ।