
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा दिवंगत गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरेका छन् । गिरिजाबाबुको सपना पूरा गर्नेतर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको दाहालले औंल्याए ।
कोइरालाको १०२औं जन्मजयन्तीका अवसरमा शीतलनिवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा उनले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायलयका गतिविधि जनतासँग गरेको कबुलविपरीत भइरहेको बताए ।
दाहालले विस्तृत शान्तिसम्झौताको भावनाअनुरूप देश अघि बढेकोमा गम्भीर प्रश्न उठाए । उनले प्रश्न गरे, ‘हामीले विस्तृत शान्तिसम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौं, के त्यतैतिर अगाडि बढेका छौं त ?’
उनले गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । उनको प्रश्न छ, ‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको काम-कारबाही, सरकारले गरेका गतिविधि- के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौं ?’
गिरिजाबाबुको योगदानको सम्मान गर्दै दाहालले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता जनाए । ‘गिरिजाबाबुले जनताको पक्षमा गरेका कामको स्मरण गर्दै गर्दा आजका नेताहरूले गम्भीर समीक्षा गर्न जरुरी छ,’ उनले भने ।
उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गरे । ‘म अहिले जनताको भावना र पीरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भइरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौं भने स्थिति गम्भीर छ ।’
कार्यक्रममा उनले वर्तमान सरकार, संसद र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचेजस्तै अवस्था सहज नरहेको बताए । ‘सरकार कसरी चलेको छ, संसद् र न्यायालयको अवस्था के छ- यो सबै गम्भीर समीक्षा आवश्यक छ,’ दाहालले भने ।
कार्यक्रममा अध्यक्ष दाहालसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो ।
वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानवअधिकार र शान्ति स्थापनामा उनको अग्रणी भूमिकाको चर्चा गरेका थिए ।
यो पनि…
राष्ट्रपति पौडेल भन्छन्- गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता