धादिङ, असार २४ :

धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । यसैगरी त्रिशूलीकिनारमा जलाउँदै गरेको चिता पनि बाढीले बगाएको छ ।

त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट बग्दै आएको बाढीले नदीमा बहावसँगै दुवै शव पुरुषको रहेको प्रहरीले जनाएको छ ।

गजुरी गाउँपालिका ६, बेल्खुमा र गल्छी गाउँपालिका २, केउरेनीमा शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार त्रिशूलीमा मंगलबार बिहानैबाट पानीको वहाब बढेको छ ।

यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहका बेला आएको बाढीले चितासहित शव बगाएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।