
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच करिब एक घण्टादेखि जारी यो छलफललाई आगामी राजनीतिक सहकार्य र सरकारको आगामी कार्यदिशासँग जोडेर हेरिएको छ।
सभापति देउवा कांग्रेसको आकस्मिक बैठक सकेर प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन्। दुई दलबीच सत्ता साझेदारी, सरकारको विस्तार र समसामयिक राजनीतिक विषय,बाढीपहिरो र डुबानको क्षति तथा उद्धारलगायतबारे छलफल भएको जनाइएको छ।
पछिल्लो समय सत्ता गठबन्धनभित्र देखिएको असमझदारी मिलाउने र आगामी दिनका रणनीति तय गर्ने उद्देश्यले यो भेटघाट आयोजना गरिएको बताइएको छ।
छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायत नेताहरूको सहभागिता रहेको छ।