काठमाडौं, असार २४ :

एकीकृत समाजवादीले पूर्वमन्त्री तथा नेतृ रामकुमारी झाँक्रीलाई पार्टीबाट मागिएको स्पष्टीकरण बुझाउने समय थप गरेको छ। पार्टी सचिवालयले झाँक्रीलाई सात दिनको म्याद थप गर्ने निर्णय गरेको हो।

झाँक्रीले हालै सार्वजनिक कार्यक्रमहरूमा पार्टी पुनर्गठनको प्रस्ताव राख्दै अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आलोचनात्मक अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टी नेतृत्वले जनअपेक्षा अनुसार काम नगरेको र सांगठानिक पुनर्संरचनाको आवश्यकता रहेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेकी थिइन्। यसै आधारमा पार्टीले असन्तुष्टि जनाउँदै झाँक्रीसँग लिखित स्पष्टीकरण माग गरेको थियो।

निर्धारित म्यादभित्र स्पष्टीकरण नआएपछि सचिवालयले थप एक साताको समय दिने निर्णय गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार, झाँक्रीले पार्टी नीति विपरीत बोलेको र यसले अनुशासनको विषय उठाएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाइएको हो। पार्टीभित्रको आन्तरिक असन्तोष र गुटगत प्रतिस्पर्धाबीच झाँक्री प्रकरणलाई गम्भीर रूपमा हेरिएको छ।