रसुवा, असार २५ :

नेपाल प्रहरीले रसुवामा मंगलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ ।

रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उल्लेख गरे। उनका अनुसार रसुवाबाट बाढीमा परी बेपत्ता भएका प्रहरीका असई लालबहादुर श्रेष्ठको शव मङ्गलबार साँझ चितवनमा फेला परेको थियो ।

बाढीमा बेपत्ता प्रहरीका असई लालबहादुर श्रेष्ठको शव चितवनमा फेला

प्रवक्ता थापाले बाढीले बगाएर तलसम्म शव लगेको आशङ्कामा खोजी जारी रहेको बताउँदै बाढीमा परेर मृत्यु भएकाहरूको सनाखतको काम पनि अघि बढाइएको जानकारी दिए। उनका अनुसार हालसम्म उक्त बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव रहेका छन् ।

चार वटा मानव अङ्गमात्रै फेला परेको बताउँदै उनले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताए । प्रवक्ता थापाका अनुसार अझै दुई प्रहरी, छ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । ‘बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल बगाएको छ भने भौतिक सम्पत्तिमा ठूलो क्षति गराएको छ ।