काठमाडौं, असार २५ :

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रका रूपमा नेपालले आतंकवादविरुद्ध सैद्धान्तिक रुपमा स्पष्ट दृष्टिकोण राखे पनि खुला सीमाका कारण चुनौती रहेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले भारत र चीनसँगको खुला सीमाका कारण चुनौती रहेको बताएका हुन् । खुला सीमाबाट आतंककारी गतिविधि नेपालमा भित्रिएमा त्यसले क्षेत्रीय सम्बन्धमा नकारात्मक असर पार्ने उनको भनाइ छ ।

उनले भारतको पहलगाम आक्रमणदेखि इजरायल-गाजा युद्धसम्मका सन्दर्भमा नेपालले सधैँ आतंकवादको विरोधमा स्पष्ट धारणा राख्दै आएको पनि बताए ।

साउदले मुलुकको परराष्ट्र नीति शक्तिशाली राष्ट्रहरूको चित्त बुझाउने नभई राष्ट्रिय हितअनुसार संचालन हुनुपर्ने बताए । आतंवादलाई प्रशय दिन नहुने कुरामा सबै राष्ट्रको साझा साझदारी हुनुपर्नेमा उनको जोड छ ।

‘हामी जहिले पनि आतंकवादका विरुद्धमै छौं । पहलगामको आतंक होस् वा इजरायल-गाजा युद्ध होस् नेपाल आतंकवादका विरुद्ध दृष्टिकोण राख्ने कुरामा स्पष्ट छौं,’ उनले भने, ‘तर हाम्राअगाडि चुनौती के छ भने, भारतसँगको खुलासीमाको टेरीटोरीलाई प्रयोग गरेर यदि त्यस्ता घटनाहरु नेपाल भित्रिए भने ती देशहरु र नेपालबीचको अन्तरसम्बन्धमा के असर पर्छ ? यस कुरामा हामी संवेदनशील हुनुपर्ने अवस्था छ । पहिलेजस्तो शक्तिशाली राष्ट्रहरुको चित्त बुझाउने आधारमा परराष्ट्र नीति हुनुपर्छ र चलाउनुपर्छ भन्ने कुराले मुलुकको औचित्य रहँदैन । त्यसकारण हामीले यी कुराहरु ध्यान दिनुपर्छ ।’

उनले फैलिँदो आतंकवादविरुद्ध लड्न मेकानिज्म र इन्टेलिजेन्स सेलहरुको विकासमा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।