
रसुवागढीस्थित भोटेकोसी नदीमा मंगलबार बिहान आएको बाढीमा बेपत्ता २० जनामध्ये अहिलेसम्म एक जनाको शव मात्र पहिचान भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीद्वारा आज (बिहीबार) जारी ‘प्रेस नोट’ अनुसार चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको मात्र परिचय खुलेको हो ।
उनीसहित अहिलेसम्म ५ वटा शव र चार जनाको मानव अंग भेटिएको पनि प्रेस नोटमा उल्लेख छ । अधिकारीका अनुसार सबै शव तथा मानवअंग महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
बाढीमा बेपत्ता १९ जनाको खोजी जारी छ । अधिकारीका अनुसार बाढीमा अझै २ प्रहरीसहित १३ जना नेपाली र ६ चिनियाँ बेपत्ता छन् । बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इलेक्ट्रिक गाडी बगाएको छ ।