
काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ ।
महानगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताए ।
असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको मानन्धरले जानकारी दिए । स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहे पनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनीता डंगाले र नेपाली कांग्रेसबाट प्रतितिनिधित्व गर्ने वडाध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको थिएन ।
देशकै ठुलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । ‘आजको बैठकबाट हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व असार मसान्तभित्र ०८२/८३ को बजेट ल्याउनुपर्ने थियो,’ प्रवक्ता मानन्धरले भने, ‘बजेट ल्याउन आज कार्यपालिकाको बैठक बसेको हो । बैठकबाट असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएका छौं । काठमाडौं महानगरपालिकाको बजेट आउँदो २९ गते आउँछ ।’
बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने उनको भनाइ छ ।