
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
बजेट अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमार्फत खर्च हुनेछ भने ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभारको रूपमा विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखिएको उनले जानकारी दिइन्।बजेट ढिलाइ भएकोप्रति उपप्रमुख डंगोलले नगरबासी तथा नगरसभा सदस्यहरूसमक्ष माफी समेत मागिन्।
संविधान अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान रहे पनि आन्तरिक द्वन्द्वका कारण काठमाडौं महानगरको बजेट ढिलो भएको हो।
नगरसभा बैठकअघि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। मेयर शाहले मौलिक ऐतिहासिक साँस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसावले नीति तथा कार्यक्रम ल्याइएको बताए ।
सामुदायिक विद्यालयमा स्पोर्ट्स एकेडेमी, उद्यमशीलता क्लब स्थापना गर्ने
उनकाअनुसार काठमाडौं महानगरपालिकालाई समावेशी सुशासन युक्त, प्रविधिमैत्री, सुरक्षित, नवप्रर्वतनमुखी स्मार्ट शहरका रुपमा रुपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, साँस्कृतिक तथा सम्पदा संरक्षण र दिगो शहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
बालेन शाहले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा २०८१-८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीतिहरु र सम्पन्न हुन बाँकी योजनाहरुलाई निरन्तरता दिइनेछ । आवधिक रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइनेछ ।
नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रम अनुसार समावेशी उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बीउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइनेछ ।
सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लव स्थापना गरिनेछ । अपतांगता, अटिजम, फरक क्षमता भएका विद्यार्थीका लागि विशेष शिक्षण केन्द्र र पहुँच पुर्याउन सोही अनुसारका पूर्वाधार निर्माण गर्ने जस्ता नीति लिइएको छ ।