
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पालिकामा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै ९ वटै पालिकामा छाउपडीगोठ भत्काउन निर्देशन दिएको हो ।
त्यहाँ महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पको टोकाइबाट शनिबार ज्यान गएको थियो ।
छाउगोठमा बसेकी महिलाले अकालमै ज्यान गुमाएपछि प्रशासनले सबै पालिकाहरूलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नका लागि पत्राचार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा छाउपडी कुप्रथा अन्त्यका लागि सबै स्थानीय तहबाट आवश्यक निर्णय गराइ छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी रहेको उल्लेख छ ।
प्रशासनले छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि भीमदत्त नगरपालिका, कृष्णपुर, वेदकोट, शुक्लाफाँटा, दोधारा चाँदनी, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई पत्राचार गरेको हो ।