काठमाडौं, असार ३२ :

गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ ।

पौडेलले गत शुक्रबार आगामी वर्ष ०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत निर्धारण गरिएको थियो ।

नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको थियो । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरुले ब्याजदर घटाएका हुन् । सबैजसो बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा धेरै नै घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले ५.४५ प्रतिशत मुद्दति निक्षेपमा ब्याज दिर्दै आएकामा साउनमा ५.४० प्रतिशत दिने भएको छ ।

एभरेस्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकामा अब मुद्दति निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ ।

यस्तै नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिँदै आएकामा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ ।  लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिँदै आएकामा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ ।

माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकामा उसले भने साउन पनि त्यही नै लागु गर्ने बताएको छ । एनआईसी एसियाले असारको तुलनामका ब्याजदर घटाएको छ । असारमा सो बैंकले ६.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकामा साउनमा त्यस्तो खातामा ६.२५ मात्रै ब्याज दिने बताएको छ । प्रभु बैंकले समेत ब्याजदरमा धेरै घटाएको छ । असारमा सो बैंकले मुद्दति निक्षेपतर्फ ६.१० प्रतिशत ब्याज दिने गरेकामा साउनमा अब ४.२५ प्रतिशत मात्रै ब्याज दिनेछ ।

यता स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ । यो बैंकले साउनमा ६.२५ ब्याज दिँदै आएकामा साउनमा मुद्दती निक्षेपतर्फ ६.२६ प्रतिशत ब्याज दिनेछ ।

राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकामा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ ।
नबिल बैंकले पनि ब्याजदर घटाएको छ । सो बैंकले असारमा ५.७५ प्रतिशत दिँदै आएकामा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ ।

ग्लोबल आइएमी बैंकले ब्याजदर चलाएको छैन । उसले असारमा ६ प्रतिशत तोकेकामा साउनमा पनि सोही नै कायम गरेको छ । अर्को बैंक सिद्धार्थले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । असारमा सो बैंकले ५.७५ ब्याजदर तोकेको थियो । साउनमा पनि सोही लागु हुनेछ ।

प्राइम कमर्सियल बैंकले ब्याजदर असारमा ६.२५ प्रतिशत दिँदै आएकामा साउनमा ६ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले पनि असारको तुलनामा घटाएको छ । उक्त बैंकले असारमा ५.७१ प्रतिशत मुद्दति निक्षेपमा ब्याज दिएकामा अब साउनमा ५.४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैंकले असारमा ६.३३ प्रतिशत ब्याजदर निर्धारण गरेकामा साउनका लागि घटाएर ६.१८ प्रतिशतमा झारेको छ । अर्को ठुलो बैंक हिमालयन बैंकले असारमा ५.५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबीआई बैंकले असारका लागि ५.५० प्रतिशत ब्याज निर्धारण गरेकामा साउनका लागि घटाएर ५.३५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

इन्भेस्टमेन्ट मेगाले पनि असारको तुलनामा घटाएको छ । असारमा मुद्दती निक्षेपमा सो बैंकले ५.५० प्रतिशत ब्याज निर्धारण गरेकोमा  साउनमा घटाएर ५.२५ प्रतिशत निर्धारण गरेको छ ।

एनएमबी बैंकले असारमा ६ प्रतिशत ब्याजदर दिएकामा साउनमा समेत सोही नै कायम गरेको छ । सिटिजन्स बैंकले ५.६५ प्रतिशत ब्याज असारमा दिएकामा घटाएर साउनमा ५.५० प्रतिशत ब्याज निर्धारण गरेको छ ।

यसरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर धमाधम घटाउन थालेपछि सर्बसाधारण आत्तिने खतरा बढेको छ । ब्याजदर घटेसँगै आमसर्वसाधारण बैंकमा पैसा नराखेर कतिपयले पुँजीलाई पलायन गराउन सक्ने जोखिम बढेको छ ।

बैंकहरुले यसरी भारी रुपमा ब्याजदर कटौती गरेको पहिलोपटक हो । राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आगामी दिनमा अझै ब्याजदर घट्ने देखिन्छ ।