
सरकारले यही असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका २९ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका ती निर्णयहरूमा उच्चस्तरीय राजनीतिक भ्रमण, अनुदान स्वीकृति र कोदो दिवस घोषणालगायत छन् ।
बैठकले जापान सरकारबाट निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब ७० करोड जापानी येन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
त्यस्तै विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि थप १०.८ मिलियन अमेरिकी डलरबराबरको अनुदान स्वीकार गर्ने पनि बैठकले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय पनि गरेको छ । नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट छपाइका लागि चित्र र आकार स्वीकृत गरिएको छ ।
उच्चस्तरीय भ्रमणहरूमा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई संयुक्त राष्ट्रसंघीय दिगो विकाससम्बन्धी राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुन न्यूयोर्क पठाइनेछ । यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साउन ६ देखि १२ गतेसम्म चीन भ्रमण गर्नेछन् ।
इथियोपियामा साउन ११-१३ गते आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी गराइने निर्णय पनि गरिएको छ ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा त्रिसदस्यीय समिति गठन गरिएको छ । छानबिन नसकिएसम्मको लागि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
सरकारले उखु किसानहरूलाई प्रतिक्विन्टल ३५ अनुदान दिने निर्णय पनि गरेको छ ।
नेपाली सेनाका ३७ जना महासेनानीको सरुवा, रेसुंगा नगरपालिका गुल्मीमा जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको उपयोग स्वीकृत, डडेल्धुरामा बहुउद्देश्यीय भवन निर्माणका लागि २.६१-२ रोपनी जग्गा स्वीकृति पनि निर्णयमा समावेश छन् ।
त्यस्तै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिको कार्यावधि चार महिनाका लागि थप गरिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मा (रुपन्देही) लाई नियुक्त गरिएको छ ।
यस्ता छन् सरकारले गरेका निर्णय :