
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले सरकारले राम्रा कामहरु पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले गरेका गुण र दोषहरु कांग्रेस र एमाले दुवै राजनीतिक दलले लिनुपर्ने उल्लेख गरे ।
सरकारले जनताको हितमा कामहरु गर्दै जानुपर्ने उनको भनाइ छ । उनले शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको पनि बताए ।
‘अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । शिक्षा मन्त्रालय एमालेकै साथीहरुले सम्हाल्नुभएको छ । यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ,’ उनले भने, ‘हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत । केही गर्न सकेका छैनौँ । गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन । जनताका लागि हामीले नै काम गर्ने हो । शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी छ । त्यो विशेष जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ ।’
सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरु रहेको बताए ।