काठमाडौं, साउन २ :

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केन्द्रीय कमिटीबाट निर्णय गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको बारेमा उचित समयमा निर्णय गर्ने बताए ।

पार्टीको सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई पार्टीमा सक्रिय रुपमा फर्काउने वा नफर्काउने भन्नेबारे एमालेभित्रै मत विभाजित छ । एकथरीले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउन नहुने धारणा राखिरहेका बेला अर्को पक्ष भने राजनीतिमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन् ।

राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको कुरा बैठकमा पार्टी अध्यक्ष ओलीले बताएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमाले पोलिटब्युरो बैठकमा १५ सदस्यीय पदाधिकारी प्रस्ताव

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नवीकरण र उहाँले पार्टीमा सक्रिय हुने विषयले पनि प्रवेश पाएको छ । राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको छ । यसमा पार्टीले उचित समयमा निर्णय गर्छ भन्ने कमिटीलाई अध्यक्षले जानकारी गराउनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै गौतमले भने ।  ७० वर्षे उमेरहद र दुई कार्यकालको अवस्थालाई हटाएर विधानको व्यवस्था प्रस्तुत गरिएको पनि उनले जानकारी दिए ।