काठमाडौं, साउन ४ :

प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ मा भारत भ्रमणमा जाने भएका छन्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी दुई दिनका लागि भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भएको छ। असोज १ गते उनी नेपाल फर्किनेछन्।

प्रधानमन्त्री कार्यालयका अनुसार यो भ्रमण अवधिमा ठुलो सहमति हुने सम्भावना कम भए पनि दुई देशबीचको सम्बन्ध राम्रो बनाउने र पुराना सहमति अगाडि बढाउने प्रयास हुने बताइएको छ। प्रधानमन्त्री भएको करिब एक वर्ष पुग्नै लाग्दा ओलीलाई समकक्षी मोदीबाट भारत भ्रमणको निम्तो आएको हो।

यो भ्रमणमा नेपाल–भारत सीमासम्बन्धी विषय प्राथमिकतामा पर्नेछ। ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सा संविधानमा समेटिएको थियो, जसप्रति भारत असन्तुष्ट देखिएको छ।

यसअघि बैंककमा भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच खुलेर कुरा हुन नसकेको पृष्ठभूमिमा यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।

साथै, प्रधानमन्त्री ओलीले दिएको निमन्त्रणाअनुसार भारतीय प्रधानमन्त्री मोदी आगामी कात्तिकको पहिलो साता नेपाल आउने सम्भावना रहेको छ। तर, मोदी काठमाडौं नआएर कुनै धार्मिक वा पर्यटकीय स्थलमा आउने र ओलीले त्यहीँ स्वागत गर्ने तयारीसमेत भइरहेको बताइएको छ।