
पछिल्लो समय नेपालमा पर्यटक आउने क्रम बढे पनि होटेलहरुको औसत क्षमता उपयोग (अकुपेन्सी रेट) घट्दै गएको सरकारी अध्ययनले देखाएको छ ।
आर्थिक वर्ष ०८१/८२ को साउनदेखि पुससम्ममा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटकको आगमन भएको छ । गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७ सय ६९ जना पर्यटकको आगमन भएको थियो तर नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार अघिल्लो आर्थिक वर्ष साउनदेखि पुससम्मको तुलनामा होटेलहरुको औसत क्षमता (अकुपेन्सी रेट) उपयोग घटेको अध्ययनले देखाउँछ ।
०८०/८१ को साउनदेखि पुससम्ममा त्यस्तो उपयोग ४५.३० प्रतिशत रहेकामा ०८१/८२ को सोही अवधिमा ४३.९३ प्रतिशत होटेलहरुको औसत क्षमता उपयोग भएको अध्ययनले देखाउँछ ।
समीक्षा अवधिमा कोसी प्रदेशको होटेलहरूको औसत क्षमता उपयोग सबैभन्दा धेरै ५९.२८ प्रतिशत रहेको छ । सबैभन्दा कम लुम्बिनी प्रदेशको अकुपेन्सी रेट ३१.९२ प्रतिशत छ । तर कोसी प्रदेशको अकुपेन्सी रेट गत वर्षको भन्दा कमजोर हो । गत वर्ष त्यस्तो रेट ६७.४९ प्रतिशतसम्म पुगेको थियो ।
लुम्बिनी प्रदेशमा अघिल्लो आवको साउनदेखि पुससम्म अकुपेन्सी रेट २६.८४ प्रतिशत थियो । मधेस प्रदेशको अकुपेन्सी रेट हेर्ने हो भने घटेको छ । ०८०/८१ को ६ महिनामा ३५.३३ प्रतिशत अकुपेन्सी रेट रहेकामा ०८१/८२ को पुससम्म ३३.६६ प्रतिशत छ ।
बागमती प्रदेशको अकुपेन्सी रेट समीक्षा अवधिमा बढेको छ । ०८१/८२ को ६ महिनामा ५१.३८ प्रतिशत सो प्रदेशको अकुपेन्सी रेट छ । त्यसअघिको वर्षको सोही अवधिमा उक्त रेट ५०.६० थियो ।
यस्तै गण्डकी प्रदेशको अकुपेन्सी रेट समीक्षा अवधिमा घटेको छ । गण्डकीमा ०८०/८१ को साउन-पुससम्म ३३.०८ प्रतिशत रहेकामा अर्को वर्षको सोही अवधिमा ३३.५८ प्रतिशतमा झरेको छ ।
कर्णाली प्रदेशको अकुपेन्सी रेट केही बढेको छ । ०८१/८२ को ६ महिनाको अवधिमा उक्त प्रदेशको अकुपेन्सी रेट ५८.३८ प्रतिशत रहेकामा त्यसअघिको वर्षमा ५६.८९ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा होटेलहरुको औसत क्षमता उपभोग (अकुपेन्सी रेट) घटेको छ । ०८०/८१ को साउन-पुससम्म ४५.८६ प्रतिशत रहेकामा अर्को वर्षको सोही अवधिमा ३९.३२ प्रतिशतमा झरेको छ ।
औद्योगिक क्षेत्रमा चुनौती बढ्यो
राष्ट्र बैंकले आफ्नो अध्ययन प्रतिवेदनमा पछिल्लो समय चुनौतीहरु बढेकोसमेत निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई तीव्रता दिनु, स्वदेशी उत्पादनका लागि उचित बजारलगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनु चुनौती रहेको उल्लेख गरिएको छ । औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कृषिजन्य तथा अन्य औद्योगिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थको आन्तरिक उत्पादन वृद्धि गरी समग्र औद्योगिक उत्पादन वृद्धि गर्नु चुनौतीपूर्ण रहेको देखाइएको छ ।
राष्ट्र बैंककाअनुसार औद्योगिक क्षेत्रमा अहिले अत्यावश्यक कच्चा पदार्थको आपूर्ति सहज गर्नु चुनौतीपूर्ण छ । उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्नु, औद्योगिक पूर्वाधार एवं मानव संसाधनको विकास गर्नु, स्वदेशी श्रमशक्तिको दक्षता अभिवृद्धि गर्नु, जनशक्ति पलायनको क्रमलाई रोकी उद्योगतर्फ आकर्षित गर्नु चुनौतीपूर्ण देखिएको छ ।
उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षित गर्नु, निर्यातयोग्य वस्तुहरूको विविधीकरण गर्नु, स्वदेशी उत्पादनको गुणस्तर वृद्धि गर्नु, बढ्दो आयातका कारण स्वदेशी उद्योग प्रतिस्थापन हुनबाट संरक्षण गर्नु तथा उद्योगहरूबाट निस्कने फोहर तथा प्रदूषणबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरलाई कम गर्नुसमेत उद्योग क्षेत्रमा देखिएका प्रमुख चुनौतीका रुपमा औंल्याइएको छ ।