काठमाडौं, साउन ५ :

सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।

बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नेछन् । साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नेछन् ।

एमाले केन्द्रीय कमिटी बैठक जारी, विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल

त्यस्तै विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडाकेन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलापविरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरुको अधिवेशनलगायत बारेमा बैठकलाई जानकारी गराउने कार्यसूची छ ।

केन्द्रीय कार्यालयको जिम्मामा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत हुने बताइएको छ । साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रिय कमिटीले गर्ने बताइएको छ । बैठक सोमबार र मंगलबार गरी दुई दिन चल्नेछ ।